डिल्ली चौधरीको एनजिओलाई करोडौं दिने यसरी भयो ठूलो खेल -

दाङ, २७ भदौ । दाङमा कांग्रेस सांसदको गैरसरकारी संस्थालाई कार्यक्रम दिलाउन ठूलो कसरत भएको खुलासा भएको छ । जिल्ला कृषि विकास कार्यालय दाङका प्रमुखले सांसद डिल्ली चौधरीको संस्था ‘वेस’लाई कार्यक्रम दिन लागेका हुन् ।
युएसए आइडीको सहयोगमा सञ्चालित सुआहारा कार्यक्रम सांसद चौधरीलाई दिलाउनका लागि व्यापक चलखेल गरेको खुलासा भएको छ ।
जिल्ला विकास समिति र जिल्ला जनस्वास्थ्य कार्यालयअन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रम छनौटका लागि जिल्ला विकास समिति, जिल्ला जनस्वास्थ्य कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सुआहारा, जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधिहरु सहभागी हुने व्यवस्था गरिएको छ ।
वेसको पक्षमा कार्यक्रम पार्न जिल्ला कृषि विकास कार्यालय दाङका बरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले चलखेल गरेको स्रोतले जनाएको छ ।
चौधरी कांग्रेस सभापति शेरबहादुर देउवाका निकटका मानिन्छन् । यो काण्डमा चौधरीलाई सिँचाइ मन्त्री दीपक गिरीले पनि साथ दिएको स्रोतको दाबी छ ।
छनौट कार्यक्रममा सहभागी हुने सदस्यहरुले दिने नम्वरको आधारमा गैरसरकारी संस्थाहरुले उक्त कार्यक्रम पाउने गर्छन् । करोडौंको कार्यक्रम भएकाले छनौट प्रक्रिया स्वस्थ नभएको आरोप छ । सुआहारा कार्यक्रमको छनौट प्रक्रियामा जिल्ला कृषि विकास कार्यालयको तर्फबाट एक दिनका लागि सहभागी भएका कार्यालयका सूचना अधिकृत भरतमणि पोख्रेलसमेत पछिल्लो निर्णयबाट सन्तुष्ट छैनन् ।
कार्यालयले छनौट प्रक्रियामा सहभागी हुन पोख्रेललाई खटाएको भए पनि भदौ २१ गतेदेखि काज विदा लिएर नेपालगञ्ज कार्यक्रममा गएकाले कार्यालय प्रमुख ज्ञवाली रातारात दाङ फर्किएका छन् । उहाँको जिल्ला फिर्तीलाई आशंकाको घेरामा राखिएको छ ।
स्रोतका अनुसार सुआहारा कार्यक्रमका लागि २२ गतेदेखि छनौट प्रक्रिया सुरु गरिएको थियो ।
२२ गते छनौट प्रक्रियामा सहभागी भएका सूचना अधिकृत पोख्रेल २३ गते भने छनौट प्रक्रियामा सहभागी हुन पाएनन् । कारण थियो त्यो दिन कृषि कार्यालयका प्रमुख ज्ञवाली छनौट प्रक्रियामा सहभागी भइसकेका थिए ।
shridhar-kshyawaliयस विषयमा बुझ्न खोज्दा कार्यालयका सूचना अधिकृत पोख्रेलले भभने, ‘सुआहारा कार्यक्रमको छनौटका लागि कार्यालयबाट मलाई नै जिम्मेवारी दिइएको थियो, त्यसैले म २२ गते सहभागी भएँ । २३ गते पनि कार्यक्रममा जाँदा हाकिम साव छनौट कार्यक्रममा सहभागी भइसक्नु भएको थियो, त्यसैले फर्किएँ ।’
छनौट प्रक्रियाको माइन्युटमा आफ्नो नाम काटेर कार्यालय प्रमुखको नाम राखिएको उनको भनाइ छ । एकाएक छनौट प्रक्रियामा सहभागिता जनाउन ज्ञवाली आएकोमा आश्चर्य व्यक्त गर्दै सूचना अधिकृत पोख्रेलले भने, ‘हाकिमसावले नेपालगञ्जमा सञ्चालित गोष्ठीमा सहभागी भएर आफू काठमाडौं जान लागेकाले तपाई नै सो छनौट प्रक्रियामा सहभागी हुनुहोला भनेर जानुभएको थियो, त्यसैले छनौट प्रक्रियामा सहभागिता जनाएको थिएँ । तर, किन हो ? उहाँ एकाएक आउनुभयो ।’
यसविषयमा जिल्ला विकास समिति दाङमा बुझ्दा स्थानीय विकास अधिकारी रमेश गौतमले छनौट प्रक्रियाका आधारमा वेसलाई उक्त सुआहारा कार्यक्रम दिनका लागि मूल्याङ्कन गरेर पठाइएको जानकारी दिए । उनले छनौट प्रक्रियाको निर्णय पुस्तिकाका आधारमा जिल्ला विकास समितिले सुआहारामा रिर्पोट पठाएको दाबी गरे ।
छनौट प्रक्रियामा कृषि विकास कार्यालय दाङको प्रतिनिधिको फेरबदलको विषयमा स्थानीय विकास अधिकारी गौतमले मर्यादाकाक्रममा सूचना अधिकृतको ठाउँमा त्यस कार्यालयका प्रमुखलाई राखिएको जानकारी दिए । ‘यो विषयमा सम्बन्धित कार्यालयले नै जिम्मा लिनुपर्छ, मेरो कुनै पनि खराव नियत छैन’, स्थानीय विकास अधिकारी गौतमले भने, ‘मैले कमजोरी गरेको भए म जस्तोसुकै कारबाही भोग्न तयार छु, मैले कानुन बमोजिम काम गरेको छु ।’
सुआहारा कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रम चलाउनका लागि यस वर्ष दाङबाट तीनवटा गैर सरकारी संस्थाले प्रतिष्पर्धामा सहभागिता जनाएका थिए ।
बेस, जनउत्थान समाज विकास केन्द्र र नेपाल सामुदायिक विकास केन्द्रले कार्यक्रम चलाउनका लागि प्रतिष्पर्धा गरेका थिए । पहिलोचरणको कार्यक्रम राडार संस्थाले सञ्चालन गरेको भए पनि यस वर्ष भने ऊ प्रतिष्पर्धामा सहभागी भएको थिएन ।
यता यस बारेमा बुझ्न खोज्दा वरिष्ठ कृषि विकास अधिकृत ज्ञवालीले छनोट प्रकृयामा आफू खराब नियत नभएर सहभागी भएको प्रतिक्रिया दिनुभयो ।
यसैवीच सुआहारा कार्यक्रमको दोस्रो चरणको छनौट प्रक्रियामा धाधली भएको भन्दै जनउत्थान समाज विकास केन्द्र दाङले सुआहारा रियोजनाको केन्द्रीय कार्यालयमा उजुरी गरेको छ ।
संस्थाले भदौ २४ गतेको मितिमा सुआहाराको केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएको हो । छनौट प्रक्रिया निष्पक्ष नभएको भन्दै संस्थाले छानविन गरी पुर्नमुल्याङ्कन गरिपाउँ भनि सुआहाराको केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएको समाज विकास केन्द्रले जनाएको छ ।
युएसएआइडिको पन्ध्र करोडको सहयोगमा पाँच वर्षसम्म सञ्चालन हुने स्वास्थ्य र पोषण सम्बन्धि उक्त परियोजनावाट जिल्लाका वालवालिकाहरु लाभान्वित हुदै आएका छन् । कार्यालयको हाजिरी रजिष्टरमा उल्लेख गरेको काज विदा ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.